सञ्जय आचार्य
पोखरा ,२७ पाैष
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ वार्षिक खेलकुद समारोह भव्य रूपमा सम्पन्न भएको छ । बिहीवारदेखि विद्यालय परिसरमा सञ्चालन भएको उक्त खेलकुद कार्यक्रम शनिवार एक विशेष समारोहबीच समापन गरिएको हो ।
समापन समारोहको उद्घाटन गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले गरेका थिए । सो अवसरमा प्रमुख अतिथि डा. पौडेलले खेलकुदलाई नियम, अनुशासन र इमानदारीको प्रतिकका रूपमा व्याख्या गर्दै नियमको पालना गर्ने व्यक्ति मात्र सच्चा खेलाडी बन्न सक्ने धारणा व्यक्त गरे । खेलमा जित–हार प्राविधिक विषय भए पनि खेल खेल्ने दृढ इच्छाशक्ति नै वास्तविक जित भएको उनले बताए ।
उनले विकसित राष्ट्रहरूमा राज्यले बालबालिकाको अभिभावकत्व लिने अभ्यास रहेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो सोच विकास गर्न आवश्यक रहेको बताए । मन्त्रालयले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको जिम्मेवारी बहन गर्दै आएको सन्दर्भमा बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान दिँदै आएको एसओएसजस्तो मानवतावादी संस्थासँग सहकार्यलाई विशेष चासोका साथ लिएको पनि उनले स्पष्ट पारे । सचिव पौडेलले खेलकुदमा विद्यार्थीहरूले देखाएको प्रतिभाको प्रशंसा गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे ।
कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुदले सामाजिक रूपान्तरण, राष्ट्रिय गरिमा र आपसी भाइचाराको सम्बन्ध विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यही उद्देश्यका साथ आगामी माघ ५ देखि १० गतेसम्म वडास्तरीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारीसमेत दिए ।
एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य राख्दै सहप्रधानाध्यापक प्रभास पौडेलले खेलकुद जीवनका हरेक पाटोसँग जोडिएको महत्त्वपूर्ण पक्ष भएको बताए । उनले यस वर्ष खेलकुद दिवसअन्तर्गत समावेश गरिएका ६५ खेलमध्ये पहिलो दुई दिनमै ४९ खेल सम्पन्न भइसकेको र समापनका दिन १६ खेल आयोजना गरिएको जानकारी दिए । सभाअध्यक्ष सुवेदीले सिकाइ कक्षाकोठामा मात्र सीमित नहुने उल्लेख गर्दै खेलकुद समारोह सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।
समापन समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, एसओएस पोखराका प्रधानाध्यापक फुर्बु थिन्ले, एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेल, पूर्वप्रधानाध्यापक मोहनमुरारि खनाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत माध्यमिक तहका विद्यार्थीहरूबीच विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सटपुट, स्लो साइकलिङ, टग अफ वारजस्ता अन्तरसदनात्मक खेलहरू सञ्चालन गरिएका थिए । शिशुकक्षाका विद्यार्थीहरूका लागि रिले रेस, बल पिक रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट, ओरेन्ज रेसलगायत खेलहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा मार्चपास्ड प्रदर्शन गरेका थिए भने २५६ विद्यार्थी सहभागी समूहले ‘स्वागत’, ‘एसओएस’ हुँदै नेपालको राष्ट्रिय झन्डाको आकृति निर्माण हुने साङ्गीतिक नृत्य प्रस्तुत गरेका थिए । साथै तामाङ संस्कृतिको सेलो, मगर संस्कृतिको कौरा, नेवारी संस्कृतिको लाखे नृत्यसहित विविध लोकसांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए ।
खेलकुद अवधिभर सम्भावित दुर्घटनाबाट खेलाडीलाई सुरक्षित राख्न विद्यालयको जुनियर रेडक्रस तथा गण्डकी मेडिकल कलेजमा कार्यरत पूर्वविद्यार्थी चिकित्सकहरूको टोलीले खेलस्थलमै आकस्मिक स्वास्थ्य सेवा प्रदान गरेको थियो । अभिभावकहरूका लागि ‘तातो आलु’ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
प्रतियोगितात्मक खेलमा माछापुच्छ«े सदन यस शैक्षिक सत्रको विजेता बन्न सफल भयो भने धौलागिरि सदन उपविजेता बन्यो । उत्कृष्ट मार्चपास्ड प्रस्तुतिका लागि अन्नपूर्ण सदन तथा सर्वाधिक अनुशासित सदनका रूपमा गौरीशङ्कर सदन घोषित भए । कक्षा ११ र १२ तर्फ गौरीशङ्कर सदन विजेता तथा अन्नपूर्ण सदन उपविजेता बने ।
विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. शेषनारायण पौडेल, वडाध्यक्ष तोरणबहादुर बानियाँ तथा प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, नगद पुरस्कार र पदक प्रदान गरेका थिए ।
