पाेखरा
सञ्जय आचार्य
पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) निर्माण गर्ने महानगरको निर्णयविरुद्ध स्थानीय बासिन्दाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
वडा कार्यालय अगाडि भएको उक्त प्रदर्शनका क्रममा वडा अध्यक्षको तर्फबाट अमर्यादित, आक्रामक तथा धम्कीपूर्ण व्यवहार देखिएको आरोप नेकपा (एमाले) वडा कमिटी पोखरा–३३ ले लगाएको छ। पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिबाटै जनताको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हुनु निन्दनीय भएको जनाएको छ।
एमाले वडा कमिटीका अनुसार पुँडीटार क्षेत्रको भौगोलिक अवस्था, वातावरणीय सन्तुलन, जनस्वास्थ्य तथा कृषि क्षेत्रमा दीर्घकालीन नकारात्मक असर पर्ने सम्भावनालाई बेवास्ता गर्दै जनभावनाविपरीत ल्यान्डफिल साइट निर्माण गर्न खोजिएको छ। स्थानीय बासिन्दाले यही चिन्ताका कारण शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए।
प्रेस विज्ञप्तिमा २०८२ पुस २५ गते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै जनताको हकहित, स्वास्थ्य र वातावरण संरक्षणका लागि आवश्यक परे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी पनि दिइएको छ।
एमाले वडा कमिटी पोखरा–३३ ले जनताको मौलिक अधिकारको सम्मान गर्दै समस्या समाधानका लागि संवाद र सहमतिमा आधारित विकल्प खोज्न महानगरपालिकासँग आग्रह गरेको छ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com