श्रीभद्र पौडेल

पोखरा, १४ चैत ।

यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउनु हुँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो। उहाँले दानको महत्वमाथि प्रकाश पार्नुहुँदै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको प्रशम्सा गर्नुभयो ।

समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुहुने सबैप्रति आभार प्रकट गर्नुहुँदै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको औँल्याउनुभयो ।उहाँले सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत प्रकट गर्नुभयो । वडा सदस्य समेत रहनुभएकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्नुहुँदै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने स्पष्ट पार्नुभयो। कार्यक्रमका बीच महायज्ञमा सहयोग पु¥याउनुहुने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो। सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । यही फागुन १४ गते सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com