श्रीभद्र पौडेल

पोखरा, १८ चैत।

यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनुभएका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो महोत्सव कृषकको चाड हो।

पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्नुहुँदै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पार्नुभयो ।पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको उल्लेख गर्नुहुँदै प्रवक्ता तिमिल्सीनाले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास समेत व्यक्त गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी लगायतले पनि धारणा राख्नुहँदै आलु महोत्सवको प्रवद्र्धनमा जोड दिनुभयो।

उहाँहरुले आलु महोत्सवलाई अझ सुदृढ एवम् परिमार्जन गर्दै लैजानुपर्ने बताउनुहुँदै कृषि उपजका नाममा महोत्सव हुनु आफैँमा महत्वपूर्ण भएको औँल्याउनुभयो। मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विकल थापाले स्वागत तथा महोत्सवका महासचिव हिक्मत थापाले कार्यक्रम संचालन गर्नुभयो। वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आउनुभएको छ । त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औसद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ । हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com