पोखरा १४, जेठ

विश्व अल्ट्रा धावकमा नेपालको नाम चम्काउँदै आएकी सुनमाया बुढा अन्नपूर्ण म्याराथनमा भाग लिन नाम दर्ता गरेकी छन् । अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन ३ तारिख !१९जेठ २० मा हुन लागेको पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा बुढाको सहभागिता निश्चित भएको आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । साना गाउँका पहाड चढ्दै दौडको यात्रा थालेकी सुनमायाले आज विश्वभरका धावकहरुसँग प्रतिस्पर्धा गर्दै नेपालको गौरव बढाउँदै आएकी छन् ।

१० वर्षअघि ’अल्ट्रा ट्रेल’ रनिङमा कदम राखेकी बुढाले सन् २०१६ मा काठमाडौंको गोदावरीमा आयोजना भएको १२ किलोमिटरको ट्रेल रेसमार्फत औपचारिक प्रतिस्पर्धा सुरु गरेकी थिइन् । त्यसयता उनले पछाडि फर्कनु परेको छैन ।

जुम्लाको पातारासी गाउँपालिका–२ स्थित पेरे गाउँमा जन्मिएकी सुनमायाले सन् २०२५ को जनवरीमा हङकङमा आयोजित १०५ किलोमिटर दौड जित्दै विश्व कीर्तिमान कायम गरेकी थिइन् । यसअघि पनि उनले सन् २०२२ मा थाइल्याण्डमा आयोजित अल्ट्रा ट्रेल रनिङमा महिलातर्फ प्रथम स्थान हासिल गरेर इतिहास रच्न सफल थिइन् । त्यसै वर्ष फ्रान्समा आयोजित “युटीएमबी सीसीसी” दौडमा मा दौडमा उनले दोस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय धावकको इतिहासमा आफ्नो गहिरो छाप छोडिन् । सन् २०२३ मा हङकङमा आयोजित प्रतिष्ठित नर्थ फेस हङकङ १०० रेसमा उनले पुनः प्रथम स्थान प्राप्त गरिन् ।

स्विट्जरल्याण्ड, चीन, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायतका दर्जनभन्दा बढी देशमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएकी बुढाले विश्वमञ्चमा नेपाली महिलाको क्षमता उजागर गरिरहेकी छन् । नेपालमा आयोजित धरान म्याराथन, जुम्ला म्याराथन, ब्रेस्थलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी म्याराथन, जुम्ला रारा अल्ट्रा र गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी हुँदै उनले थुप्रै पदक जितेकी छन् ।

सात दिदीबहिनीमध्ये चौथी सन्तान सुनमाया सानैदेखि खेलमा रुचि राख्थिन्। ७ कक्षामा अध्ययनरत हुँदा राष्ट्रपतिको रनिङ शिल्डबाट उनको औपचारिक खेल करिअरको सुरुआत भएको हो । रोचक कुरा के छ भने, उनका साथ पाँचौं बहिनी राममाया बुढा पनि दौडमा सक्रिय छन् । हाल ’कैलाश फुगा’ ब्रान्डको स्पोन्सरशिपमा विश्व दौड प्रतिस्पर्धामा सहभागी भइरहेकी बुढाले अन्नपूर्ण म्याराथनमार्फत पुनः नेपाली गौरवलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य छ ।

पाँचौं संकरणको म्याराथनमा ८० धावकहरुले प्रतिस्पर्धाका लागि दर्ता गरेका छन् । तीमध्ये २२ महिला धावक छन् । म्याराथनमा स्विजरल्याण्ड, अष्ट्रेलिय, स्पेन लगायतका करिब ७ देशका ८ धावकले हालसम्म नाम दर्ता गराएको म्याराथनका प्राविधिक संयोजक रिकी योञ्जनले बताए । उनका अनुसार जेठ १५ गतेसम्म नाम दर्ता गराउने समय भएकाले धावकहरु बढ्ने सक्नेछन् ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com