पाेखरा १७, जेठ
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणको ७५ औं अर्थात हिरक महोत्सव मनाइदैछ । सोही अवसरमा समितिले पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपुर्ण पदमार्गमा २० जेठमा पाँचौ संस्करणको अन्नपुर्ण म्याराथन २०८२ आयोजना गदैछ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको अवसर पारि समितिले विगत पाँच वर्षदेखि म्याराथन आयोजना गदै आएको हो । चार हजार १३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु हुने ४२.१९५ किलोमिटरको म्याराथन त्यसपछि माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ चुईले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुदै एक हजार ९५५ मिटर उचाईमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह मा.वि.को खेल मैदानमा आएर सम्पन्न हुनेछ । अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गको पूर्वाधार विकास, पर्यटन प्रबद्धन सगै खेल पर्यटनको विकास र विस्तार गर्ने उदेश्य सहित म्याराथन आयोजना गदै आएको आयोजक समितिका अध्यक्ष एंव म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजार भन्दा अग्लो हिमाल आरोहण गरि विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाईदै आईएको छ । महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनको दुबैमा प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार सगै पदक र प्रमाणपत्र पुरस्कार पाउने छन् । यसै गरि म्याराथनका थप पुरस्कारहरुमा अन्नपूर्ण गाउँपालिका प्रथमलाई विशेष पुरस्कार (अन्नपूर्ण गा.पा. घर भई म्याराथनमा सहभागी भएको धावक), गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार (गण्डकी प्रदेशमा घर भई म्याराथनमा सहभागी भएको धावक), महिलातर्फ निरन्तर तीन पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार, ७५ औं स्थान प्राप्त गर्ने धावकले डायमण्ड जुब्ली अवार्ड पाउनेछन् । त्यसै गरि विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएकोे छ ।
