३ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार बुझाउने भनेपनि बुझाएन ।

ब्यूरोका एक अधिकृतका अनुसार, अभिलेखीकरणको सबै काम नसकिएपछि सोमबार बुझाउने गरी तयारी गरिएको छ । ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरी शुक्रबार नै रायसहितको प्रतिवेदन बुझाउन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सीआईबीलाई आग्रह गरेको थियो ।

तर, प्रहरीले मुद्दा अदालतमा जानुपर्ने दिनको ५ दिनअघि पनि प्रतिवेदन सरकारी वकिललाई बुझाएन । यो प्रकरणका सरकारले सरकारी लिखत किर्ते र संगठित अपराधको कसुरमा मुद्दा चलाउन राय दिँदै सरकारी वकिललाई प्रतिवेदन दिँदैछ । यो मुद्दामा सरकारी वकिलको कार्यालयले अनुसन्धान सुरु भएको ६० दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ ।

मुद्दा दायर गर्नुअघि अध्ययनका लागि समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले शुक्रबारै प्रतिवेदन बुझाउन ताकेता गरेको थियो । यो प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान भने लिएको छैन ।

तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठेका बेला सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

त्यसपछि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिने तयारी भएको थियो । तर, अन्तिम समयमा राजनीतिक नेतृत्वबाट सकरात्मक संकेत नपाएपछि सीआईबी पछि हटेको थियो ।

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।

यसमध्ये २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ ।

माधव नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयन हुँदा प्रधानमन्त्री निवासमा २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थपिनुपर्ने थियो । तर मन्त्रिपरिषदले नै सरकारी जग्गामा हुँदै नभएको मोही खडा गरेर उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने भनी निर्णय गर्‍यो र बालुवाटारको पर्खालभित्र थपिनुपर्ने जग्गाको करिब आधा हिस्सा मोहीका नाममा सारेर ‘भूमाफिया’को कब्जामा गएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।

प्रधानमन्त्री कार्यालयको परिपत्र भन्दै समरजंग कम्पनीको नाममा रहेको राजकुलो र सरकारी जग्गामा मोही कायम हुने गरी निर्णय भएको थियो । यो निर्णयको कारण धेरै सार्वजनिक, सरकारी र गुठी समेतका जग्गा हिनामिना भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

५ माघ २०६९ मा मालपोत कार्यालय, डिल्लीबजारले ललितानिवासभित्र रहेको ६० आना जग्गा ‘पशुपति टिकिन्छा गुठी’का नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।

ललितानिवासमा बाँकी रहेको जग्गा हत्याउन भूमाफियाहरुले नक्कली गुठी खडा गरेर त्यसमा फर्जी मोही राखेर सरकारी जग्गा व्यक्तिको नाममा सारेको अधिकृतहरु बताउँछन् ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com