खोजी विशेष संवाददाता
अगस्ट ४, टुओम्बा
नेपलिज एशोसिएसन अफ टुओम्बाको आज बसेको साधारण सभा तथा अधिवेशनले आगामी दुई बर्षको कार्यकालको लागि धिरज दाहालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य स्थित टुओम्बामा रहेको नेपालीहरुको छाता संगठन मानिएको नेपलिज एशोसिएसन अफ टुओम्बाको निर्वाचन बाट सचिवमा रिकेश श्रेष्ठ, कोषाध्यक्षमा मीन कुमारी बस्नेत र सदस्यहरुमा अनुज भण्डारी, अजय बँजगाई, विशाल भण्डारी, शैलेश थापा र अनिल अर्याल चयन हुनुभएको छ ।
९ सदस्यीय समिति पुरा गर्न १ सदस्य बाँकी रहेको र उक्त पदपूर्ति गर्ने जिम्मा निर्वाचन कमिटिले नव निर्वाचित अध्यक्ष धिरज दाहाललाई दिएको छ ।
राज नगरकोटीको संयोजकत्वमा गठित निर्वाचन कमिटिले सो समिति चयन गरेको हो ।
नेपलिज एशोसिएसन अफ टुओम्बाले विशेष गरी नेपाली कला र संस्कृति अन्र्तगत रहेर विशेष चाडपर्व लक्षित कार्यक्रमहरु गर्दै आएको छ ।
बन्द सत्र सुरुहुनुभन्दा पहिले नि वर्तमान अध्यक्ष दिवस चापागाईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा चापागाँई संस्थाले आफनो कार्यकालमा गरेका कार्यक्रमहरुको बारेमा जानकारी राखेका थिए । त्यस्तै नि . वर्तमान कोषाध्यक्षले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुका साथै नवनिर्वाचित टीमबाट चयन हुने कोषाध्यक्षलाई सम्पूर्ण विवरण उपलब्ध गराउने जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित टुओम्बा स्थितका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित टीमलाई बधाई तथा शुभकामना दिनुका साथै संस्थाले भावी दिनमा नेपाली भाषा संस्कृति भेष भूषा तथा चाडपर्व विशेष जिम्मेवारीका साथ कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।
