पाेखरा, ७ पुष
टुक्रा भै म छियाछिया हुनुपरे टुक्रिन्छु आफै बरू,
मेराे देश म दिन्न टुक्रिन कसै चाहे म आफैँ मरूँ।
हाे मेराे दृृढता अखण्ड बलियाे नेपाल राम्राे सधैँ,
के हाम्राे रहला समस्त जगमा नेपाल हाम्राे नभै।
पाेखरा गैह्रापाटन स्थित पाेखरा उद्योग वाणिज्य संघ सँगै रहेकाे अमृतकक्षमा महाकाव्यकार एवम् साहित्यकार छन्दमणिद्वारा रचना गरिएको कविताको माथिकाे कवितांश कवि तारानाथ पराजुलीको मुखारबृन्दबाट शनिबार सुमधुर आवाजमा गुञ्जायमान बनाइरहँदा दर्शकदीर्घामा हुटिङ् र ताली बर्षिएका थिए।
हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा लियो क्लब अफ हेमजाको व्यवस्थापनमा शनिबार पोखरामा गरिएको “स्रष्टा एक : स्वर अनेक” कार्यक्रम सम्पन्न भएको छ ।
एकल कविता वाचनका श्रृङखला देशव्यापी बनिरहेका बेला यतिबेला नयाँ शैलीकाे कार्यक्रमका साथ हेमजा साहित्य प्रतिष्ठान नेपालले आफ्नो रजत जयन्तीका सन्दर्भमा २५ बर्ष २५ कार्यक्रम अन्तरगत याे नविनतम प्रयाेग गरेकाे हाे।
कार्यक्रममा महाकाव्यकार एवं साहित्यकार छन्दमणिद्वारा सृजना गरिएका रचनाहरू माथि सुमधुर आवाजका धनी विभिन्न स्वरद्वारा वाचन गराइएकाे थियो । कार्यक्रममा वरिष्ठ लाेकगायिका एवम् प्राज्ञ हरिदेवी कोइरालाले आमा शीर्षककाे कविता वाचन गरिरहँदा दर्शकदीर्घामा हर्षाश्रु छर्लङ्ग देखिन्थ्याे, डा. जगन्नाथ रेग्मी अनुष्टुप छन्दमा यात्रा हाे जिन्दगी हाम्रो यात्राले बन्छ जीवन गाउँदा यात्राका लागि उस्तै हुट्हुटी देखिन्थ्याे, शिव त्रिपाठीले पञ्चचामर छन्दमा श्रीमती शिर्षकमा कविता वाचन गरिरहँदा विवाहितले आफ्नो जाेडीलाई र अविवाहितले आफ्नो प्रेम कल्पनामा झुमेकाे देखिन्थ्यो ।
यसैगरी शुभ शर्माले स्रग्विणी छन्दमा जिन्दगी कविता, रमा खतिवडाले बसन्ततिलका छन्दमा के के भयाे… कविता, संयोग बस्यालले पञ्चचामर छन्दमा म चाेर हूँ कविता, डा अनिल थापाले शिखरिणी छन्दमा याे शिखरिणी कविता, अव्यग्र अस्मितले मालिनी छन्दमा देशलाई सुधारूँ, वसन्त बाँस्तोलाले शालिनी छन्दमा पाेखरा कविता , निकेश गिरीले शाेक काव्यांश , सुनिल गायकले भुजङ्ग्प्रयात छन्दमा तिमी, गीता अधिकारी जुनले बहरे मुतकारिबमा गजल, विनम्र विजयले ताेटक छन्दमा नवक्रान्ति गरी, जिज्ञासु सापकोटाले मन्दाक्रान्ता छन्दमा पानी, र आर्या त्रिपाठीले प्रमाणिका छन्दमा बालकविता हिमाल र म वाचन गरेका थिए। कार्यक्रममा प्राज्ञ एवम् स्रष्टाकी सहधर्मिणी छन्दिकाले आफ्नै रचनामा हेरिदेऊ पुलुक्क शीर्षककाे श्रृङ्गारिक कविता सुनाएकी थिइन्।

कार्यक्रममा बाेल्दै छन्दनायक माधव वियाेगीले भने – “छन्द कवितामा प्रयाेग गर्ने गण मात्र नभई जीवनशैली हाे ।आज सचेत कविहरु दिनानुदिन छन्द कविता लेखनमा थपिदै जानुभएको छ।।अब नेपाली छन्द कविताले विश्वबव्यापकता पाएकाे छ।त्यसैले अब संख्यामा हैन कविताकाे गुणमा पनि ध्यान दिन जरुरी छ।” स्रष्टा परिचर्चाकारका रुपमा उभिदै शिक्षासेवी माधवशरण पाैडेलले भने – “कविवर मुकुन्द शरण उपाध्यायकाे गाउँमा जन्मिएका छन्दमणि गुरुकै छन्दकाव्यकाे पाटाेमा लागेर आफूलाई राष्ट्रिय स्तरमा नै सशक्त महाकाव्यकार तथा साहित्यकारका रुपमा उभ्याउँदा सम्पूर्ण हेमजाबासीकाे छाती चाैडा भएको छ।मुकुन्द जन्माएकाे क्षेत्रले अर्काे सशक्त युवा हस्ताक्षर पनि दिएकाे छ।” कार्यक्रममा बाेल्दै महाकाव्यकार एवम् साहित्यकार छन्दमणिले सम्पूर्ण वाचक आयाेजक, व्यबस्थापक,सक्रिय सम्पूर्ण अन्य महानुभावलाई धन्यवाद दिए र थपे – “मलाई याे कार्यक्रमले लेखन क्षेत्रमा अगाडि बढ्न थप हाैसला प्राप्त भएको छ।याे हाैसला,उत्साह र जाँगर थपिदिने तपाईहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।” उक्त कार्यक्रममा ज्ञानसागर एकेडेमीमा अध्ययनरत छात्रछात्राहरुले प्रमाणिका छन्दमा स्वागत कविता प्रस्तुत गरेका थिए ।
हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष बलराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव परशुराम अधिकारीले गरेका थिए।प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पाैडेलले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रमकाे संयोजक सुनिल गायक रहेका थिए।
