असफल गौतम

पोखरा –

उर्वर भूमिमा मात्र साहित्य उम्रन्छ : मुकुन्दरण उपाध्याय हेमजा साहित्य प्रतिष्ठान नेपालको वार्षिक प्रकाशन हिमशिखर २५ औं अङ्क पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ । उक्त अङ्कको भाषाविद् मुकुन्दशरण उपाध्याय, वरिष्ठ साहित्यकार सरुभक्त, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र वरिष्ठ कलाकार रमेश श्रेष्ठसहितका सुनाम प्रतिभाका करकमलबाट लोकार्पण गरिएको हो । भाषाविद् मुकुन्दशरण उपाध्यायले हेमजा साहित्य प्रतिष्ठानको हिमशिखरको रजत अङ्क लोकार्पण गर्न पाउनु आफ्ना लागि गौरवको विषय रहेको बताए । उपाध्यायले हेमजा हिजो पनि राम्रो रहेको र आज विकास निर्माणसँगै झन् राम्रो हुँदै गएको देख्दा खुसी लागेको धारणा राखे ।

आफ्नो भाषिक आन्दोनलका बारे बोल्दै उपाध्यायले भने “यही ठाउँबाट लेख्न सिकेर अगाडि बढ्दै जाँदा भाषामा ज्यादती देखेर भाषा आन्दोलनमा लाग्दा तपाईंहरूले हिमशिखरको रजत अङ्कका माध्मयबाट पनि साथ दिएर हौसला बढाउनु भएको छ यसरी नै निरन्तर साथ दिनुपर्छ ।” उनले नेपाली भाषाको क्षेत्र मेची-महाकाली मात्र नभएर यसको क्षेत्र व्यापक भएकाले नेपाली भाषा बलियो बनाउन व्याकरण बलियो हुनुपर्नेमा जोड दिए । उपाध्यायले उर्वर भूमिमा मात्र साहित्य उम्रने भन्दै हेमजालाई सरस्वती नदीले घुमेकाले साहित्य उर्वर भएर मौलाएको बताए । वरिष्ठ साहित्यकार सरुभक्तले हेमजा साहित्यको उर्वर भूमि हुनुका साथै आफ्नो मावली गाउँसमेत भएकाले ज्यादै स्नेहभाव रहेको बताए । उनले पोखरामा देखिएको साहित्यिक पत्रकारिताको अभावलाई हिमशिखरको प्रकाशनले पनि केही सहायता दिँदै आएको धारणा व्यक्त गरे । , वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले हेमजा साहित्य प्रतिष्ठानको हिमशिखर २५ औं अङ्कले नेपाली वाङ्मयका क्षेत्रमा एउटा इटा थपेकाले त्यसको जति गुनगान गाए पनि कम हुने बताइन् । आफ्नो वाङ्मय यात्रामा मुकुन्दशरण उपाध्यायको आशीर्वाद पनि मिलेको र त्यही माटोमा त्यहीको साहित्यिक पुष्प लोकार्पण गर्न पाउनु गौरवको विषय भएको धारणा राखिन् । हिमशिखरका हालसम्म प्रकाशित २५ अङ्कै आवरण कला सौजन्य गर्दै आएका वरिष्ठ कलाकार रमेश श्रेष्ठले हिमशिखरको यात्रामा जोडिएर रजत वर्षसम्म आउन पाउनु आफ्ना लागि गौरवको विषय रहेको बताए । पोखरा २५ का कार्यवाहक वडाध्यक्ष धना पोखरेलले फरक–फरक क्षेत्रमा ख्याति कमाएर स्थापित राष्ट्रिय प्रतिभालाई हेमजामा भेट्न पाउनु हेमजावासीका लागि गौरवको विषय भएको धारणा राखिन् । लोकार्पित अङ्कको समीक्षा गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिठानका अध्यक्ष डा विष्णुप्रसाद शर्माले हिमशिखरको रजत अङ्कमा सारा हेमजाको दस्तावेज अटाएकाले पत्रिकाका रूपमा नभएर सङ्ग्रहणीय ग्रन्थका रूपमा हिमशिखर प्रकाशित भएको बताए । शर्माले ३२४ पृष्ठ र विभिन्न खण्डमा संरचित रजत अङ्क आवरणको साजसज्जा, कागजको गुणस्तर, लेख रचनाको रखाइक्रम सबै हिसाबले उत्कृष्ट रहेको टिप्पणी गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव असफल गौतमले महाकवि देवकोटाका आयाम र अध्यायबारे जति चर्चा गरे पनि अपुरो र अधुरो हुने बताए ।

संस्थाका अध्यक्ष बलराम पौडेलले हेमजा साहित्य प्रतिष्ठान स्थापनाको २५ वर्ष पुगेको अवस्थामा प्रतिष्ठानप्रति बाह्य स्रष्टा साधकको दृष्टिकोण कस्तो छ भन्ने बुझ्न रजत अङ्क लोकार्पण समारोहमा हेमजा क्षेत्रबाहिरका सुपरिचित स्रष्टा साधकलाई मात्र मञ्च प्रदान गरिएको बताए । संस्थाका सचिव परशुराम अधिकारीले रजत अङ्कका लागि लेखकबाट लेख रचना सौजन्यसहित प्राप्त भएकाले उक्त साथ र सहयोगका खातिर रजत अङ्कका ७९ जना लेखकलाई लेखक सम्मान अर्पण गरिएको बताए । संस्थाका उपाध्यक्ष सुनिल गायकले संस्थाले हिमशिखरको रजत अङ्कलाई हेमजा क्षेत्र र हेमजा साहित्य प्रतिष्ठान केन्द्रित गरेर विज्ञापनरहित दस्तावेजका रूपमा प्रकाशित गर्न प्रतिष्ठानले निकै महेनत र परिश्रम गर्नुपरेको धारणा राखे ।

क्रार्यक्रममा डा. अनिल थापा, प्रकाश त्रिपाठी, रघुथान अधिकारीले रचनावाचनसहित आफ्ना धारणा राखेका थिए । स्मरण रहोस् प्रतिष्ठानले स्थापना कालमा हिमशिखर ५ औं अङ्कपछि हिमशिखरका अतिरिक्त ‘हेमजाका कविताहरू’ विशेषाङ्क प्रकाशित गरेको थियो भने हिमशिखर २४ औ अङ्कपछि हिमशिखरका अतिरिक्त पोखरामा क्रियाशील साहित्यिक संस्थाको परिचयात्मक पुस्तक ‘चिनारी’ रजतजयन्ती विशेषाङ्क प्रकाशित गरेको छ । १२ औैं अधिवेशनबाट निर्वाचित कार्यसमितिले प्रकाशित गरेका सबै अङ्क विज्ञापनरहित र मुकुन्दशरण उपाध्यायद्वारा प्रतिपादित भाषामा प्रकाशित गरेको हो।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com